सरकार अबको एक हप्ताभित्रै मिति घोषणा गर्ने बताइरहेको छ भने निर्वाचन आयोग जेठको तेस्रो साताभन्दा उता निर्वाचन गर्न नसकिने भन्दै त्यसअघि नै १२० दिन समय राखेर निर्वाचनको मिति घोषणा गर्नुपर्ने पक्षमा छ ।
अबको एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएपनि सरकारले अहिलेसम्म कार्यतालिका बनाएको छैन ।
निर्वाचन तयारीस्वरुप केही निर्वाचन कानुन निर्माण गर्ने काम भएका छन् । तर, निर्वाचनका लागि तयार हुनुपर्ने वातावरण अझै बनेको छैन । तर, दैनिकजसो मन्त्री र नेताहरुले निर्वाचनको दुहाइ भने दिइरहेका छन् ।
निर्वाचन घोषणाको अधिकार सरकारले राखेको छ । सरकारले मिति घोषणा नगर्दासम्म आयोग तात्ने कुनै आधार छैन ।
सरकार निर्वाचनको मितिचाहिँ घोषणा गर्दैन, वैशाख÷जेष्ठमा निर्वाचन गराउँछु भन्न पनि छाड्दैन ।
नेताहरुका अभिव्यक्तिको सार सार्वजनिक खपतभन्दा उपल्लो देखिँदैन । स्थानीय तह वा निकाय के–को निर्वाचन गर्ने भन्ने नै पनि यकिन गर्न सकेका छैनन् दलहरुले ।
स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नै विवादमा तानिएको छ । जिल्लास्तरमा सर्वदलीय समितिले गरेको सिफारिसलाई केन्द्रमा केही नेताको स्वार्थमा ‘कैंची’ चलाइएपछि जिल्ला–जिल्लामा ‘रणसंग्राम’ मच्चिएको छ ।
यद्यपि, सहरी विकासमन्त्री अर्जुननरसिंह केसी एक हप्ताभित्र निर्वाचनको मिति तोक्ने जिकिर गर्छन् ।
निर्वाचन आयोग सरकारले मिति तोके बाँकी प्रक्रिया अघि बढाउन तयारी अवस्थामा छ । परिस्थिति ‘बिँड तात्ने ताप्के नतात्ने’ भएको छ ।
मिति घोषणा भएको १२० दिनभित्र निर्वाचन गराउने तयारीमा आफूहरु रहेको निर्वाचन आयोगमा सचिव गोपीनाथ मैनालीको भनाइ छ ।
जेठको तेस्रो साता उता निर्वाचन हुन नसक्ने भन्दै उनी त्यसयता नै १२० दिन पुग्ने गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।





प्रतिक्रिया दिनुहोस्