२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


हेटौंडा–कुलेखानी–स्यूचाटार प्रसारणलाइन सन्चालनमा


0
Shares

                                                                                  दृष्यः ढल्केबर–खिम्ती प्रसारणलाइन ।
भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउने महत्वपूर्ण प्रसारणलाइनकोरुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खन्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो ।

मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खन्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको कामसमेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले राससलाई जानकारी दिए ।

उक्त प्रसारणलाइनबाट काठमाडौंमा बढी भएको बिजुली हेटौंडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ ।

राजधानीको वितरण प्रणालीमा पनि थप सुधार गर्ने हो भने दुईओटा महत्वपूर्ण प्रसारणलाइनले राजधानी जोडिएपछि त्यसले दिने सेवासमेत सहज हुने विश्वास लिइएको छ ।

केही दिन पहिलेमात्रै ढल्केबर–खिम्ती प्रसारणलाइनबाटसमेत विद्युत् प्रवाह भइसकेको छ ।

हेटौंडा–मातातीर्थ–स्यूचाटार प्रसारणलाइन पनि सन्चालनमा आएपछि काठमाडौंमा विद्युत् आयात गर्न र काठमाडौंबाट बाहिर लैजानलाईसमेत सहज भएको छ ।

प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर–हेटौंडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो ।

उक्त प्रसारणलाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुबै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिए ।

वि.सं. २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए ।

वि.सं. २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ ९–९ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो ।

काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारणलाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो ।

प्रसारणलाइन निर्माणका लागिमात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको उनले जानकारी दिए ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्रसारणलाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौं उपत्यकामा जारी विद्युत्भार कटौतीमुक्त अभियानमा सो प्रसारणलाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।

मातातीर्थदेखि स्यूचाटारसम्मको खन्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सन्चालनमा ल्याइएको हो ।

सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ–भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ । रासस