Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नासुको फाराम भर्ने म्याद तीन दिन थप, २१ हजारले भरे फारम


0
Shares

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत् फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी गराए ।

उनले एकैपटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको बताए ।

सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरुले आयोगमा गइ नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद थप गरेका हुन् ।

उनकाअनुसार सुरु दस्तुरमा आगामी शुक्रबार र दोब्बर दस्तुरका लागि माघ २८ गतेसम्मको समय थप गरिएको छ ।

गत पुस २७ गते दरखास्त आह्वान गरिएको नासुको मंगलबार (आज)सम्म सुरु दस्तुर र माघ २५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न समय तोकिएको थियो ।

नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा अहिलेसम्म करिब २१ हजारले फाराम भरेको आयोगका दरखास्त संकलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए । रासस