Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मेलम्ची पानी : विकासको नाममा खुशी हुने कि प्रदुषण बढेकोमा चिन्ता !


0
Shares

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकामा खानेपानीको पाइप बिछ्याउने काम धमाधम भइरहेको छ । पाइप बिछ्याउन मूल सडकमा खनिएका खाल्डोका कारण राजधानी धुलाम्य भएको छ ।

हावामा धुलो मिसिएका कारण पैदल यात्रु, व्यवसायी तथा सडक छेउका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रतिकुल असर पर्ने देखिन्छ ।

सवारी आगामन व्यवस्थित तुल्याउन खटिएका ट्राफिक प्रहरी नियमित सडकमै खटिनुपर्ने भएकाले उनीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न थालेको छ ।

उपत्यकाका भित्री सडकमा ६ सय ७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भएपनि हालसम्म ५ सय ३० किलोमिटर पाइप बिच्छ्याइएको जनाइएको छ ।

बाहिरी सडकमा समेत पाइप बिच्छ्याउने काम धमाधम भइरहेको छ ।

नयाँ सडक, नयाँ बानेश्वर, लाजिम्पाट, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा पाइप बिच्छ्याउने काम भइरहेको छ ।

मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल ल्याइने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा सप्लाइ गरी सम्बन्धित क्षेत्रका घरघरमा पानी पु¥याउने योजना अनुसार हाल पाइप बिच्छ्याउने काम भइरहेको हो ।

विकास निर्माणको काममा कसैको विरोध नदेखिए पनि आम सर्वासाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी राजधानी धुलाम्य भइसक्दासमेत निर्माण कार्यलाई गति नदिनु तथा धुलो न्यूनिकरणका उपाय अवलम्बन नगरिनुले विकासको खुशीभन्दा पनि वायु प्रदुषणका कारण निम्तिने खतराले चिन्ता बढाएको छ ।

प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानिने गरेको छ तर राजधानीमा हाल प्रदूषण सूचक दुई सयको हाराहारी पुग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ । यस अतिरिक्त धुलोका स–साना कण नेपाली बजारमा चलनचल्तीमा रहेका सामान्य मास्कले छेक्न नसक्ने समेत विज्ञहरुले बताएका छन् ।