मंगलबार राति (बुधबार बिहान) १.३५ बजे उनको आइसीयुमै निधन भएको अस्पतालले जनाएको छ ।
यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पुर्याइ भागेपछि उनलाई उपचारका लागि ८ गते काठमाडौं ल्याइएको थियो ।
घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको थियो ।
वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जितले सुनिता इनालेसन इन्जुरी ( आगोको राप धेरै निलेर फोक्सो जलेका) कारण मृत्यु भएको जानकारी दिइन् ।
‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौंमा उपचारका लागि ल्याइएकी सुनिताको सम्पूर्ण उपचार खर्च सरकारले जिम्मा लिएको थियो ।
महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुका साथै अभियुक्तलाई उम्कन नदिने बताएका थिए । तर, प्रहरीले अहिलेसम्म अभियुक्तलाई समाउन सकेको छैन ।
छोराले बुहारी जलाउने प्रयास गरेलगत्तै फरार भएपनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौं ल्याएकी थिइन् ।
अढाइ वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाकी सुनिता विवाह गरी नेपाल आएकी थिइन् । उनकी डेढ वर्षकी छोरी छिन् ।
नर्सिङ इन्चार्ज रञ्जितले भनिन्–‘फोक्सोबाट मुटुमा जाने रगत सन्चालनका लागि इक्मो (ecmo) मेसिन लगाइएको थियो, जसले अक्सिजन सन्तुलन गर्ने हो । सन्तुलन पनि भएको थियो । तर, फोक्सोमा धेरै असर भइसकेकाले उहाँलाई बचाउन सकिएन ।’ रासस










प्रतिक्रिया दिनुहोस्