
काठमाडौं, असार २२ । गृहमन्त्री रामबहादुर थापाले अपराध नियन्त्रण गरी सुशासन कायम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको तीन नम्बर प्रदेशस्तरीय कार्याशालाको आज काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारको समृद्धि र विकासको लक्ष्य प्राप्त गर्नका लागि शान्ति सुरक्षालाई प्रभावकारी बनाइने बताए ।
अहिले वैज्ञानिक अनुसन्धान प्रणाली आवश्यक रहेको भन्दै गृहमन्त्री थापाले न्याय र सुशासनलाई स्थापित गराउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए ।
अहिले जुनसुकै क्षेत्रमा भ्रष्टाचार बढ्दै गएको भन्दै उनले अनुसन्धान भ्रष्टाचार नियन्त्रणमा केन्द्रीत हुनु पर्नेमा जोड दिए ।
आगामी भदौ १ गतेबाट मुलुकी अपराध आचारसंहिता ऐन लगायत नयाँ फौजदारी कानुन कार्यान्वयनका लागि सरकारले तयारी गरेको गृहमन्त्री थापाले जानकारी दिए ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देवानी र फौजदारी कानुन प्रत्यक्ष रुपमा समाज केन्द्रीत हुने भएकाले निष्पक्ष काम गर्न सक्नुपर्ने बताए ।
प्रहरी प्रमुख सर्वेन्द्र खनालले सुशासनको लागि नेपाल प्रहरीले पहरेदारी गर्ने भन्दै प्रहरी संगठले कुनै पनि आपराधिक समूहसँग साँठगाठ नगर्ने विश्वास दिलाए ।
उनले प्रहरीले सम्पादन गर्ने कुनै काममा त्रुटी हुन नहुने भन्दै नयाँ कानुन लागू गर्न चुनौती भए पनि सामना गर्दै अगाडि बढ्ने बताए ।
दुई दिनसम्म चल्ने कार्याशालामा तीन नम्बर प्रदेशका प्रहरी प्रमुख, सरकारी वकिलहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्