Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


फागुन मसान्तभित्र लेखापरीक्षण गरिसक्न निर्देशन


0
Shares

काठमाडौं, फागुन २३ । महालेखापरीक्षकको कार्यालयले फागुन मसान्तभित्र लेखापरीक्षण गरिसक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।

महालेखापरीक्षक टंकमणि शर्माले चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउनपर्ने भएकाले फागुन मसान्तभित्र सम्बन्धित सबै निकायलाई लेखापरीक्षणको काम गरिसक्न निर्देशन दिएका हुन् ।

उनले बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिको बैठकमा हालसम्मपनि लेखापरीक्षण नगरेका निकायलाई जिम्मेवार र जवाफदेही बनाउनपनि संसदीय समितिहरुलाई आग्रह गरे । 

महालेखापरीक्षक शर्माले बिमा संस्थान, त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशनलगायतका निकायले हालसम्म लेखापरीक्षण नगरेकाले लेखापरीक्षण गर्न बाध्य बनाउन सार्वजनिक लेखा समितिलाई आग्रह गरे ।

समितिका सदस्यहरुले सार्वजनिक संस्थानहरुले विद्यमान ऐन, कानुनविपरीत खर्च गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्नपनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनीहरुले सार्वजनिक संस्थाहरुले कानुनविपरीत जथाभावी खर्च गरेकाले पनि मुलुकमा बेरुजु बढदै गएको धारणा राखेका थिए ।