१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री


0
Shares

दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे ।

उनले सहमति, सहकार्य र एकताबाटै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए ।

निकै अप्ठ्यारो परिस्थितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा सरकारले गरेको भन्दै प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा निर्वाचन गराइ छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको चरण सुरु भइसकेको र आवधिक निर्वाचनलेमात्र लोकतन्त्र संस्थागत हुने दाबी गरे ।

उनले केही तत्व धमिलो पानीमा माछा मार्ने षड्यन्त्रमा लागेको भएपनि उनीहरुको अभिष्ट पूरा नहुने बताए ।

मधेसी मोर्चालाई पनि निर्वाचनमा सहमत गराउन संविधान संशोधन प्रक्रियालाई अघि बढाइने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले पत्रकारहरुलाई पनि निर्वाचनको माहोल बनाउनका लागि कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलगायतले सन्चार क्षेत्रको महत्वबारे प्रकाश पारेका थिए ।