
सभामुख ओनसरी घर्तीको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा संसद् बैठक सुचारु गर्ने सहमति भएको हो ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा सभामुख घर्तीले सदन अबरुद्ध गरेर निकास ननिस्कने र निर्वाचन गराउनसमेत समस्या पर्ने भन्दै संसद् अबरुद्ध नगर्न प्रतिपक्षी दलका नेता ओलीलाई आग्रह गरेका थिए ।
त्यस क्रममा प्रधानमन्त्री दाहालले पनि संसद्बाटै सबै विषयको छिनोफानो हुने भएकाले गतिरोध नगर्न ओलीलाई आग्रह गरेका थिए ।
तीन जनाबीच भएको छलफलपछि एमाले अध्यक्ष ओलीले पनि निर्वाचनको वातावरण बनाउन एमाले सधैं तयार रहेकाले आजबाट संसद् बैठक अबरुद्ध नगर्ने बताउनुभएको सभामुख घर्तीले जानकारी दिइन् ।
संसद् खुलाउन एमाले तयार भएपछि आजदेखि संविधान संशोधन प्रक्रिया अघि बढ्ने भएको छ ।
आज दिउँसो ३ बजेका लागि संसद् बैठक बोलाइएको छ । बैठकमा संविधान संशोधन प्रस्तावमाथिको छलफल अघि बढाउने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्