
दुई दिनदेखि पूर्वी नेपालका बजारमा इन्धन नपाउँदा उपभोक्ता मारमा परेका छन् ।
आयल निगमले भने प्रयाप्त मात्रामा इन्धन वितरण गराउँदा पनि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको बताउँदै आएको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले विहीबार र शुक्रबार गरी २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल कोसी र सगरमाथा अञ्चलका डिलरलाई उपलब्ध गराएको दाबी गरेको छ । तर पनि शनिबारदेखि कुनैपनि पेट्रोल पम्प खुलेका छैनन् ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेशकुमार यादवले दुई दिनमा ३० लाख लिटर इन्धन वितरण गरिएको र बजारमा अभाव हुने कुनै सम्भावना नभएको बताए ।
एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए । त्यसको विरोधमा कर्मचारीले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो ।
विहीबार अभियुक्तलाई कारबाही गर्ने सहमति भएपछि निगमले नियमितरुपमा इन्धन वितरण गरेको छ । तर, बजारमा इन्धनको अभाव जारी रहेकाले उपभोक्ता मारमा पर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्