
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।
आयोगस्थित आफ्नै कार्यकक्षमा सोमबार रासससँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने, जनशक्ति व्यवस्थापन गर्ने र अन्य तयारी भइरहेको बताए ।
उनले भने–‘मुलुकमा उपलब्ध नभएका सामग्री जस्तै मतपेटिका, कागज, नउड्ने मसी, सिल, छेकावार आदि विगतमाझैं विदेशबाट आयातका लागि तयारी भइरहेको छ ।’
निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र हुने र त्यसका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने बताउँदै उनले भने–‘हाल आयोगसँग ७० हजार मतपेटिका मौज्दात छन्, बाँकी अपुग मतपेटिका ल्याउने विभिन्न विकल्पकाबारेमा छलफल भइरहेको छ, एक/दुई दिनमा टुंगो लाग्छ ।’
नामावली संकलन तथा मिलाउने कार्य अन्तिम चरणमा रहेको बताउँदै सचिव मैनालीले ‘स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन भने आवश्यक सर्त हो’–भने ।
आयोगले उक्त प्रतिवेदन सरकारलाई तत्काल उपलब्ध गराउन आग्रह गरेको र सरकारले यही साताभित्र उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।
यसबाहेक आयोगले मतदाता शिक्षा दिने तयारी गरिरहेको र यसमा आमसन्चार माध्यम तथा राजनीतिक दलबाट पनि सहयोगका लागि आह्वान गरेको छ ।
‘जनताले निर्वाचन चाहेकाले निर्वाचन जसरी भएपनि हुन्छ । निर्वाचन हुँदैन भन्ने त म कल्पना पनि गर्न सक्दिनँ’–उनले भने ।
निर्वाचन गर्न कानुनको समस्या नपर्ने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने पाँचमध्ये चार कानुन प्रमाणीकरण भइसकेको जानकारी दिए ।
बाँकी रहेको राजनीतिक दलसम्बन्धी कानुन नआएका खन्डमा आयोगले उपलब्ध निर्वाचन आयोग ऐनको प्रावधानअनुसार संविधान र संघीय कानुनका सन्दर्भमा बाधा अड्काउ फुकाउ आदेश जारी गर्नसक्ने अधिकार रहेको उनले उल्लेख गरे ।
राजनीतिक दल तथा उम्मेदवारको संख्याअनुसार मतपत्र फरक–फरक हुने र त्यसको तयारी भइरहेको बताउँदै उनले तराई र काठमाडौं उपत्यकाका लागि ठूलो आकारको मतपत्र हुने जानकारी दिए । अन्य क्षेत्रमा भने उम्मेदवारको संख्याअनुसारको मतपत्र हुनेछ ।
नेपालमा पहिलोपटक एकै चरणमा स्थानीय निर्वाचन हुन लागेकाले चुनौती धेरै भएपनि व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गर्दै उनले भने–‘मतपत्र छाप्ने सम्पूर्ण जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिएका छौं । प्रेस तयारी अवस्थामा रहेको र कागज मौज्दात छ ।’
निर्वाचनको प्रवेशद्वारबाट नै संविधानको वास्तविक कार्यान्वयन सुरु हुने धारणा व्यक्त गर्दै उनले निर्वाचनको तयारीका लागि आयोगसँगै सन्चारमाध्यम, राजनीतिक दल, युवा, नागरिक समाजलगायत सबैको साथ रहेको उनले बताए ।
यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावना कम रहेको जानकारी गराउँदै उनले यही फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताए ।
प्रतिक्रिया दिनुहोस्