Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


ब्याजदरमा स्थीरता आवश्यक : राणा


0
Shares

काठमाडौं, फागुन २० । पछिल्लो समय उद्योग–व्यवसायीले बैंकको चर्को ब्याजदरबारे आपत्ति जनाउँदै आएका छन् ।

मुलुकका कतिपय स्थानमा त उद्योगी–व्यवसायीले ब्याजदरको विरोधमा ¥याली, धर्ना र जुलुस नै निकाल्दै आएका छन् ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेर ध्यानाकर्षण गराइसकेको छ ।

प्रधानमन्त्री ओलीले उद्योगी–व्यवसायी–बैंकिङ क्षेत्रसँग छलफल गरी समाधान खोज्न अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका थिए ।

सहमति नभए ब्याजदरमा हस्तक्षप गर्नसमेत उनले आदेश दिए ।

बैंकरहरुले भने ब्याजदरको विरोधमा आन्दोलन गर्नु गलत भएको बताउँदै आएका छन् ।

राजनीतिक स्थीरतासँगै लगानीको वातावरण बनेर लगानीको माग बढ्दा ब्याजदर उच्च हुन पुगेको बैंकरहरुले बताउँदै आएका छन् ।

ब्याजदरमा हस्तक्षेपको कुरा खुला बजार नीतिविपरीत हुने उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा भने आफूहरु पनि सधैं खुला बजार नीतिकै पक्षपाती रहेको बताउँछिन् ।

वित्तीय क्षेत्रपनि निजी क्षेत्र नै भएको र आफूहरु वित्तीय र उद्योग दुवै क्षेत्र फस्टानुपर्ने पक्षमा रहेको राणाको भनाइ छ ।

ब्याजदर घटाउनैपर्नेभन्दा पनि यसमा स्थीरता आवश्यक रहेको राणा बताउँछिन् ।

सरकारको समृद्धिको नारा सार्थक हुन उत्पादनमूलक उद्योग फस्टाउन पर्छ भन्दै यसका लागि नीतिगत सुधार कर, जग्गा, ब्याजदरलगायतका समस्या समाधान हुनुपर्ने निजी क्षेत्रको भनाइ छ ।