काठमाडौं, फागुन २० । २०७२ सालको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरीको झन्डै ४ वर्षमा पुनःनिर्माण सुरु भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनःनिर्माण सुरु गरेको हो ।
कहिले जग्गाको विषय त कहिले संरचनाकै विषयलाई लिएर पटक–पटक विवादित भइ रानीपोखरी पुनःनिर्माण अलपत्र पर्दै आएको थियो ।
रानीपोखरी परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा नै निर्माण गरिने जनाइएको छ ।
विगतमा काठमाडौं महानगरपालिकाले आफैंले पुनःनिर्माण थालेपनि विवादका कारण बीचमै स्थगित भएको थियो ।
प्राधिकरणले काठमाडौं महानगरपालिकाको समन्वयमा उपभोक्ता समिति गठन गरेर सोमबारबाट काम सुरु गरेको हो ।
पोखरी प्रताप मल्लकै शैलीमा बन्ने तर पोखरीका दायाँ–बायाँ भने आधुनिकता झल्कने किसिमका झिलिमिली बत्तीहरु पनि राखिने प्राधिकरणका विज्ञ राजुमान मानन्धर बताउँछन् ।
तिहारको भाइटीकाको दिनसम्म पुनःनिर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले बताए ।
प्राधिकरणले निर्धारण गरेको मापदन्डअनुसार विशेष ध्यान दिएर रानीपोखरीको पुनःनिर्माण गरिने उनले उल्लेख गरे ।
पुनःनिर्माणमा ४० जना खटिएका छन् ।
प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनःनिर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठनपनि गरेको छ ।
रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत् र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण तथा सौन्दर्यीकरणकार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ ।
मन्त्रिपरिषदको गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनःनिर्माण गर्ने गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्