Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग्नोस् : निगम


0
Shares

काठमाडौं, फागुन २० । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भन्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।

इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास ‘लोडिङ’ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनैपनि अभाव नरहेको जनाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार हालसम्म उद्योगीसँग ८ हजार मेट्रिकटन भारतबाट ग्यास ल्याउने कागजात (पीडीओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ ।

सन् २०१९ को फेब्रुअरीमामात्रै ३५ हजार ७५४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ ।

निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ ।

उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनैपनि समस्या नभएकाले अनावश्यकरूपमा ग्यासको सिलिन्डर भन्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ ।

निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत् रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीकोसमेत ध्यानाकर्षण गराएको छ ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ । रासस