
तस्विरः एजेन्सी
चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिने जनावरको आक्रमणबाट थुप्रैंले अकालमै ज्यान गुमाउनु परेको छ भने थुप्रैं घाइते भएका छन् ।
जिल्लामा पछिल्लो ७ महिनाभित्र वन्यजन्तुको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ । थुप्रैं मानिस घाईते भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरुमा वन्यजन्तुको संख्या बढ्दै गएपछि बाहिर निस्किएर वन्यजन्तुले आक्रमण गर्ने गरेको हो ।
पछिल्लो दुई महिनामा हात्तीको आक्रमणबाट मात्रै दुई जनाको मृत्यु भएको छ । चितवनमा सबैभन्दा बढी हात्ती, गैंडा र बाघको आक्रमणबाट स्थानीयले ज्यान गुमाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पछिल्लो समय वन्यजन्तुको आक्रमणबाटै धेरैले ज्यान गुमाउने गरेका छन् ।
पछिल्लो समय वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जलाई अफ्ठ्यारो पर्न थालेको छ ।
वन्यजन्तुबाट जोगिन जनचेतनामूलक कार्यक्रमदेखि पर्खाल निर्माणको काम पनि भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
समुदायमा आधारित चोरी शिकारी नियन्त्रण समूहमार्फत जनजागरण अभियान तीब्र बनाइएको कँडेलले जानकारी दिए ।
युवाहरु टोली बनाएर गस्ती गर्न थालेका छन् । निकुञ्जबाट बाहिर निस्कने जनावरहरुका लागि सामुदायिक वनमा घाँसे मैदान, पोखरी निर्माण जस्ता काम पनि गरिएका छन् ।
वन्यजन्तुको आवागमन निमयन्त्रण गर्न वरण्डाभार क्षेत्रमा सिमेन्टेट पर्खालसहितको जाली लगाउने काम भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्