
झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे ।
एमालेको राष्ट्रिय अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रलाई परास्त गर्न आह्वान गरे ।
उनले सरकारमै रहेका दलहरु संविधान कार्यान्वयन गरी चुनाव हुन नदिने षड्यन्त्रमा लागिरहेको आरोप लगाए ।
जनताका अधिकार सुनिश्चित गर्न नदिनेहरुलाई जनताले नै ठीक पार्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले चुनाव हुन नदिने, संविधान कार्यान्वयन हुन नदिने, लोकतन्त्रलाई संस्थागत हुन नदिने र हिंसा भड्काउन खोज्नेहरु सक्रिय हुन थालेकोतर्फ सचेत रहन आग्रह गरे ।
राष्ट्रको एकता र समृद्धि तथा राष्ट्रियता कमजोर बनाउने कुनैपनि प्रयास आफूहरुले नमान्ने उनको घोषणा थियो ।
मधेसी मोर्चाले संविधान संशोधन गर्न राखेको मागप्रति लक्षित गर्दै अध्यक्ष ओलीले संविधान र कानुन मानेर एमाले अघि बढ्ने भएकाले कसैका आधारहीन मागमा सहमति र सम्झौता नगर्ने बताए ।
उनले जनताबाहेक अरु कसैको आदेशसमेत एमालेले नमान्ने बताए ।
सो अवसरमा एमाले महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भाव र एकता कायम राख्न आफूहरुले मेची–महाकाली अभियानको शुभारम्भ गरेको बताए ।
उनले एमालेले सुरु गरेको अभियान कसैकाविरुद्ध नभएको भन्दै अभियान रोक्ने प्रयास भए कडा प्रतिकार गर्ने चेतावनी पनि दिए ।
अभियानकैक्रममा एमालेले शनिबार झापाको बिर्तामोड र दमकमासमेत आमसभा गरेको छ । सभामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरे ।
एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानमा पार्टीका शीर्ष नेता सहभागी छन् ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धिका लागि भन्दै अभियान सुरु गरिएको एमालेले जनाएको छ । पूर्वबाट सुरु भएको अभियान १५ दिनसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्