Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भक्तपुर क्यान्सर अस्पतालद्वारा बिरामी र कुरुवाका लागि निःशुल्क बससेवा सुरु


0
Shares

अस्पतालले बिहान ५ः३० देखि साँझ ८ः३० बजेसम्म दुईओटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सन्चालन गरेको बस सेवा लिन बिरामी वा त्यसको कुरुवाले अस्पतालको कार्ड भने अनिवार्यरुपमा साथमा लिनुपर्ने व्यवस्था गरेको छ ।

अस्पताल प्रशासन शाखाका अधिकृत राजाराम तजलेकाअनुसार अस्पतालबाट बिहान ५ः३० बजे पहिलो ट्रिप बस बिरामी लिनका लागि छुट्छ भने बिहान ७ः२५ बजे बिरामी लिएर बस आइपुग्छ ।

दोस्रो ट्रिप ११ः३० बजे छुटेर १२ः३० बजे आउने, तेस्रो ट्रिप १ः३० बजे छुटेर २ः३० बजे आउने र चौथो ट्रिप साँझ ६ः३० बजे छुटेर ८ः३० बजे फर्कने गरी बस सेवा सन्चालन गरेको उनले जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरव मन्दिरअगाडिबाट फर्केर पुनः बिरामी र कुरुवा बोक्दै भक्तपुर फर्कने गर्दछ ।

त्यसैगरी, बिहान ७ः३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुनः टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपालचोक, चाहबिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामंगल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हुँदै बिहान ९ः३० बजे अस्पताल आइपुग्ने गरी यातायात सन्चालन गरिएको छ ।

अस्पतालले बिरामी र कुरुवाका लागि दुईओटा बस सन्चालनमा ल्याएर उपचारमा आउनेलाई यातायातको सहज व्यवस्था गरेको र आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

पहिलो रुट नम्बर ‘ए’को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट ओहोर–दोहोर गर्ने र रुट नम्बर ‘बी’को बसले भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरिएको हो ।

उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक यातायातमा सकस हुने भएपछि अस्पतालले बिरामीको सेवालाई ध्यानमा राखेर निःशुल्क बससेवा सुरु गरेको हो । रासस