विभिन्न धार्मिक कार्यक्रमसहित आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धामको उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भगवान गौतमबुद्धको पावनभूमिमा निर्माण गरिएको यस शाश्वतधामले सामाजिक कल्याण र जागरणका क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
हिन्दूराष्ट्र बनाउने उद्घोष
उद्घाटन समारोहमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले नेपाललाई हिन्दूराष्ट्र बनाइ छाड्ने उद्घोष गरे ।
उनले नवनिर्मित शाश्वतधाम हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण रहेको भन्दै यस्तो कार्यलाई अगाडि बढाउँदै लैजानुपर्ने धारणा राखे ।
कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डे, श्रीलंकाका सांसद दया गामागे, अध्यात्मिक गुरु श्री श्री रवि शंकरलगायतले मन्तव्य राखेका थिए ।
७ बिघा क्षेत्रफलमा फैलिएको यस धामको शिलान्यास १८ वर्षअघि स्वामी शंकराचार्यले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै चौधरी ग्रुपका सन्चालक तथा शाश्वतधामका संस्थापक विनोद चौधरीले धार्मिक ज्ञान दिने साझा थलोकारुपमा धाम निर्माण गरिएको बताए ।
राष्ट्रपति फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र पुगे
समारोहमा राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह एउटै मञ्चमा उपस्थित हुने भनिएपनि पूर्वराजा शाह भने दोस्रो कार्यक्रममामात्रै सहभागी भए ।

उद्घाटनसत्र सम्पन्न भइ राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौं फर्किएपछि पूर्वराजा शाह कार्यक्रमस्थल आइपुगेका थिए ।
पूर्वराजा शाहलाई कार्यक्रमस्थलमा भव्य स्वागत गरिएपछि धर्मसभा सुरु भएको थियो ।
पूर्वराजा शाहलाई धर्मसभाको प्रमुख अतिथि बनाइएको भएपनि उनले कुनै मन्तव्य भने राखेनन् ।










प्रतिक्रिया दिनुहोस्