Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल र नेपालीबीच झडप


0
Shares

बुधबार भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले आनन्द बजारका स्थानीयलाई कुटपिट गरेपछि बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा तनाव भएको हो । तनावमा स्थानीय पत्रकारमाथि पनि कुटपिट भएको खबर छ ।

सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको हो । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

एसएसबीले चलाएको गोली लागेर एक नेपाली गम्भीर घाइते भएको बताइएको छ । यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ । अन्य केहीलाई समेत चोट लागेको छ । झडपमा नेपाल प्रहरीका जवानसमेत घाइते भएको स्थानीयले जनाएका छन् । सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बल भने सो क्षेत्रमा झडप हुँदासमेत नपुगेको स्थानीयको आरोप छ ।

विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।