Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


६ महिनामा ६ खर्ब ७८ अर्ब पुग्यो व्यापार घाटा


0
Shares

काठमाडौं, फागुन १८ । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६९ अर्बको वैदेशिक व्यापार भएको छ । यस अवधिमा व्यापार घाटामा भने उच्च वृद्धि आएको छ ।

चालू वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २३ अर्ब बराबरको वस्तु आयात भएको छ भने ४५ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा ५ खर्ब ५४ अर्ब बराबरको वस्तु आयात भएको थियो भने ४१ अर्बको निर्यात भएको थियो ।

व्यापार घाटामा ३० प्रतिशतको वृद्धि आएको विभागले जनाएको छ ।

यस अवधिमा एक खर्ब ४ अर्ब ८३ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । निर्माणजन्य सामग्री फलाम तथा स्टिलजन्य वस्तु ८८ अर्ब २६ करोड बराबरको आयात भएको भन्सार विभागले जनाएको छ । योे अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।

यस्तै, ५९ अर्ब बराबरको मेसिनरी वस्तुहरु आयात भएको विभागले जनाएको छ ।

६ महिनाको अवधिमा १७ अर्बको सुन, १६ अर्बको औषध एवं औषधिजन्य वस्तु, ९ अर्ब बराबरको मल आयात भएको विभागको तथ्यांक छ ।

विभागले निर्याततर्फ पनि अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि आएको जनाएको छ ।

४ अर्बको ऊनी धागो, ३ अर्ब बराबरको फलाम तथा स्टिलजन्य वस्तुहरु निर्यात भएको विभागले जनाएको छ ।

आयात–निर्यातको अनुपात उच्च छ । उत्पादनजन्य उद्योगलाई प्रवद्र्धन गर्न नसके व्यापार घाटा थप चुलिने भन्दै अर्थविद्हरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।