Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चितवनको भरतपुर आजदेखि महानगरपालिका बन्यो


0
Shares

काठमाडौंपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालकाअनुसार शुक्रबार उपमहानगरपालिका र वडाहरुमा महानगरपालिकाका सूचनापाटी राखिएको छ भने आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्नेछन् ।

भमपामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ ओटै वडा थिए । नगरपालिका र गाविस समायोजन गरेर वडाको संख्या नबढाइएको कार्यकारी अधिकृत बरालले बताए ।

भमपाभित्र जिल्लाका अधिकांश सरकारी कार्यालय पर्छन् । जिल्लास्थित भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि यसैमा पर्छन् ।

त्यसैगरी, दुई ठूला मेडिकल कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालयजस्ता राष्ट्रिय महत्व बोकेका शिक्षण संस्था पनि रहेका छन् ।

महानगरपालिका बनेसँगै भरतपुरवासीमा खुसी छाएको छ । भमपाले शुक्रबार साँझ घरघरमा दीप प्रज्वलन गरी खुसियाली मनाउन आग्रह गरेको छ ।

तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख देवी ज्ञवालीले समयको आवश्यकतानुसार चितवनको विकास र समृद्धिका लागि महानगरपालिका बनेको बताउँदै राष्ट्रमा चितवनलाई चिनाउन भमपा सार्थक हुने विश्वास व्यक्त गरे । रासस