२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


स्थानीय तह भएसँगै सेवा प्रभावित, नागरिकता वितरण नै रोकियो


0
Shares

गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका एवं उपमहानगर र महानगरपालिकाजस्ता तहमा परिणत भएकाले देशभरको स्थानीय तहको काम प्रभावित बनेको हो ।

खासगरी कर्मचारी, लेटरप्याड र छापजस्ता सामग्रीको अभावमा सेवाग्राहीले सेवा पाउन नसकेका हुन् ।

यस्तै समस्या ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयले व्यहोरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्दै आएको नागरिकता प्रमाणपत्र वितरण नै प्रभावित बनेको छ ।

नागरिकतालगायतका महत्वपूर्ण कागजपत्र प्रदान गर्न सिफारिस गर्ने स्थानीय निकाय तहमा परिणत हुँदा लेटरप्याड, छाप र कार्यालय व्यवस्थापन गर्न समय लाग्दा नागरिकता वितरणजस्ता काम प्रभावित भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।

नागरिकताका लागि गाउँ–गाउँबाट सदरमुकाम आएका स्थानीय प्रशासन कार्यालयबाट काम नहुँदा मर्कामा परेका छन् ।

स्थानीय तहका लागि आवश्यक सामग्रीको व्यवस्थापन भएपछिमात्र प्रशासनबाट नागरिकता वितरणको काम थालिने प्रजिअ खड्काले जानकारी दिए ।

साविकको गाविस गाउँपालिका र नगरपालिकामा परिणत भएकाले नागरिकता प्रिन्ट गर्ने सफ्टवेयरको व्यवस्थापनमा गृह मन्त्रालय जुटेको छ ।

उक्त व्यवस्थापन भए बुधबारबाट नागरिकता प्रदान गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा एक नगरपालिका र आठओटा गाउँपालिका कायम गरिएको छ ।