कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुर स्रोतले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताए ।
‘शरीरमा भेटिएको गोली शव परीक्षणकाक्रममा झिकेर प्रहरीको विधि–विज्ञान प्रयोगशालामा पठाइएको छ’–प्रहरीनायब महानिरीक्षक देउजाले भने–‘विधि–विज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ ।’
प्रहरी केन्द्रीय कार्यालयअन्तर्गत् रहेको विधि–विज्ञान प्रयोगशालाका एक प्रहरी अधिकारीले गौतम हत्याको गोली प्रयोगबारे रिपोर्ट बनाएर सुदूरपश्चिम पठाइसकेको जानकारी दिए ।
उनले प्रयोगशालाबाट रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताए । शव परीक्षण रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरीको पेस्तोल भेटिएन
त्यसैगरी, घटनाकै दिन गत विहीबार नेपाल तथा भारतीय पक्षबीच आनन्दबजारको सीमाक्षेत्रमा भएको झडपकाक्रममा नेपाल प्रहरीका अधिकारीको हराएको एकथान पेस्तोल र सात राउन्ड गोली अझै भेटिएको छैन ।
सीमाक्षेत्रमा भारतीयपक्षले लखेट्नेक्रममा प्रहरी सहायक निरीक्षकको साथमा रहेको लोडेड चाइनिज पेस्तोल भाग्नेक्रममा हराएको प्रहरी स्रोतले जनाएको छ ।
तर, प्रहरीले हराएको पेस्तोलबारे बाहिर खुलाएको छैन । पेस्तोल खोज्न प्रहरी छानबिन टोली लै गठन गरी परिचालन गरिएको छ ।
घटनापछि कन्चनपुरको गड्डाचौकी, बेलौरी, आनन्दबजार क्षेत्रका नेपाल–भारत आवत–जावत गर्न नाका सहज बन्न सकेको छैन ।
गौतमको हत्यासँगै दुई दिनसम्म यहाँको स्थिति तनावग्रस्त बन्नुका साथै नेपालीपक्षले भारतीय नम्बर प्लेटका सवारी–साधनमाथि आगजनी गर्न थालेपछि सीमानाकामासमेत आवागमनमा असहजता थपिएको थियो ।
स्थिति सामान्य बन्दै गइरहेको भएपनि भारतीय सुरक्षाकर्मीले सीमावर्ती भारतीय वनबासा बजारतर्फ नेपाली सवारी–साधन लैजान रोक लगाएका छन् भने भारतीय सवारी–साधन पनि भीमदत्तनगरतर्फ आउन सकेका छैनन् ।
गड्डाचौकी नाकामा भारतीय एसएसबीले सरसामान किनमेलका लागि नेपालीलाई साइकल र पैदलमा जान दिएको छ ।
सवारी–साधनमा रोक लगाएपछि दुबै देशका नागरिकलाई आवागमनमा असहज भएको छ । रासस










प्रतिक्रिया दिनुहोस्