
बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा कूल ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी सहभागी छन् । देशभरबाट २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
परीक्षाका लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी १ हजार ९ सय २३ केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जना जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले बताए ।
विगतका वर्षमा एसएलसीका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो ।
परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् ।
यसैबीच माध्यमिक शिक्षा परीक्षामा कास्कीमा ४ जना दृष्टिविहीन र १५ जना सुस्तश्रवण गरी १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागी भएका भएका छन् । कास्कीमा शान्तिपूर्णरुपमा आजको परीक्षा सम्पन भएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले जानकारी दिए ।
सिन्धुलीमा भने ६ हजार ४ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जिल्लाका २५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । पहिलो दिनको परीक्षा व्यवस्थित रहेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्