Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


भाडा वृद्धिको विरोधमा स्थानीयद्वारा यान्त्रिकपुलमा तालाबन्दी


0
Shares

कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ ।

यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि सञ्चालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १०० रहेकामा रु १२५ लिने गरी भाडावृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठको भनाइ छ ।

यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पुर्‍याइएको छ भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पुर्‍याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताए ।

पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो । कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिए ।

यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुले पाँच मिनेटको दूरीमा आइने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो गरेका छन् । (रासस)