२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


उपत्यकाका प्रमुख नदीबाट ३० मेट्रिकटन फोहर व्यवस्थापन


0
Shares

                                                                            फाइल फोटो
वाग्मती सफाइको २०१औं हप्तामा पशुपति, राममन्दिर क्षेत्रमा सफाइ गरी ८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो ।

सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टंकराज आचार्यले संयुक्तरुपमा गरेका थिए ।

सफाइ महाअभियानलाई शनिबारै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजारथान मास्क, पाँच हजारथान पन्जा, ५० जोर बूट र २० ओटा डोको हस्तान्तरण गरे ।

बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौंमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

यसैको सिलसिलामा बैंकको कार्यालयनजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ ।

टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई संगठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बंैकका सन्चालकसमेत रहेका वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताए ।

आजको सफाइ अभियानमा पूर्वसचिव डा. कृष्णचन्द्र पौडेलले सहभागीलाई शपथ खुवाएका थिए ।

वाग्मती सफाइ महाअभियानको २०२औं हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ ।

रुद्रमती सफाइको १६०औं हप्तामा बिजुलीबजार पुलमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

पूर्वसचिव किशोर थापा र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायतले सफाइको नेतृत्व गरेका थिए । सफाइमा ३५० व्यक्तिको सक्रिय सहभागिता थियो ।

विष्णुमती सफाइको १३२औं हप्तामा मनमैंजु, भत्केकोपुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिए ।

टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा आजको सफाइ अभियान सन्चालन भएको थियो । सफाइमा ८०० अभियन्ताको सहभागिता थियो ।

तारकेश्वर नगरपालिकाको दियालो टोलमा शनिबार विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १६२औं हप्तामा शनिबार रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवं रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ ।

वि.सं. २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो ।

यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ । रासस