Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह


0
Shares

काठमाडौं, असार २१ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले बिहीबार जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचारजस्तो आधारभूत मानवअधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भइ तत्काल डा. केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा. केसीको जीवनरक्षा गर्न माग गरिएको छ ।

विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनैपनि पक्षबाट कतैपनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न/नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

डा. केसी जुम्लामा यही असार १६ गतेदेखि अनशनरत् छन् ।

डा. केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न आयोगले यही असार १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचारसमेत गरेको छ ।

त्यसैगरी, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरि अर्यालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी डा. केसीको माग पूरा गरी जीवनरक्षा गर्न माग गरेका छन् । रासस