Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने


0
Shares

फाइल फोटो

नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास सोमबार (भोलि) देखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ ।

नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका ४ हजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले बताएको छ ।

नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ ।

त्यसपछि हरेक वर्ष निरन्तररुपमा यो अभ्यास शान्ति प्रयाससंग जोडिएर विभिन्न नाममा चल्दै आएको छ ।

नेपाली सेनाद्वारा आज तालिम केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति एवम् महासेनानी प्रयोगजंग राणाले तेश्रो शान्ति अभ्यासमा युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्ता अभ्यास हुने बताए ।

उक्त अभ्यासमा १ हजार २४ जना विभिन्न देशका सेनाले भाग लिने पनि उनले जानकारी दिए । यसअघि सन् २०१३ मा भएको दोश्रो शान्ति अभ्यास २३ मुलुकका सेनाले भाग लिएका थिए ।यस अभ्यासमा नेपाली सेना र विदेशी सेनाका गरी ७५ जना सैनिकले भाग लिनुका साथै नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि भाग लिनेछ ।
स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेको छ । उक्त तालिमको सोमबार (भोलि) प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अभ्यासबाट शान्तिस्थापनामा खटिएका मुलुकका सेनाबीचमा काममा एकरुपता भई कार्यदेश पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । रासस