प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका पक्षबाट सुनुवाइ हुँदाहुँदै समय सकिएकाले सोमबार (भोलि)का लागि सुनुवाइ जारी रहेको हो ।
नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट आइतबार (आज) डा. भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, तुलसी भट्ट, शम्भु थापा र अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादवलगायतले बहस गरेका थिए ।
बहसकाक्रममा उनीहरुले प्रहरी ऐनअनुसार वरीयताकाक्रममा सिलवाल एक नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए ।
सोमबार सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नेछन् ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरीयताको एक नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिएका थिए । त्यसमा पनि सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्