
नेपाली कांग्रेस झापाले आइतबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘जिल्लास्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै नेता पौडेलले निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
दलका नेतृत्वले जिम्मेवारी पूरा गरे तोकिएकै समयमा चुनाव हुने उनको भनाइ थियो ।
जनता चुनावले उत्साहित भएको चर्चा गर्दै नेता पौडेलले जनअपेक्षाप्रति राजनीतिक दल उत्तरदायी हुनुपर्ने बताए ।
‘उग्र र खोक्रो राष्ट्रवादका कुरा गरे निर्वाचनमा व्यवधान खडा हुन्छ’–उनले भने–‘कोही–कसैबाट निर्वाचनविरोधी गतिविधि हुनुहुँदैन ।’
मुलुकमा चुनावी चहलपहल आएपनि एमाले र मधेसवादी दलका कारण चुनाव हुने कुरामा शंका–उपशंका गर्ने अवस्था सिर्जना भएको उनले बताए ।
‘एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडि बढ्न सक्दैन’–उनले भने–‘एमालेको राष्ट्रवाद र मधेसवादी दलको मधेसप्रेरित सोच घातक छ ।’
निर्वाचन गराउन मधेसी जनतालाई सम्झाउनुपर्नेमा उनले जोड दिए ।
उनले कांग्रेसभित्र एकता नभएको र पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जिम्मेवारी नबुझेका कारण समस्या बढेको बताए ।
देउवा धेरैपटक प्रधानमन्त्री भइसकेकाले त्यो अनुभव उनले पार्टीको एकतामा खर्चनुपर्ने उनको सुझाव थियो ।
‘बदला होइन, बद्लिएर काम गर्नुपर्छ’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले मुलुकको राजनीतिक नेतृत्व असक्षम भएकाले परिवर्तनमा जोड दिए ।
उनले कम्युनिष्ट पार्टी र तिनका नेतालाई व्यवहार बुझाउन आवश्यक भएको टिप्पणी गरे ।
‘बदला होइन, बद्लिएर काम गर्नुपर्छ’–उनले भने–‘मधेसमा मधेसी र पहाडी, पहाडमा मतवाली र तागाधारीको बीचमा विभाजन कोर्ने कुचेस्टा भइरहेको छ, यो आन्तरिक राष्ट्रियतालाई कमजोर बनाउने प्रपञ्च हो, मुलुक नरहे, पहिचान र अस्तित्वको कुरा व्यर्थ हुन्छ ।’
नेता पौडेल र गुरुङ इलाममा हुन लागेको कार्यक्रममा सहभागी हुनेक्रममा झापा आएका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्