प्रमुख तीन दलले निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा उनीहरु नै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
सोमबारको संसद बैठकमा सत्तारुढ दल कांग्रेस–माओवादी केन्द्र र विपक्षी एमालेले एक–अर्काप्रति स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाए ।
मधेसी मोर्चा आफ्नो माग पूरा नभएको भन्दै संसद नै छोडेर आन्दोलनमा उत्रिएरहेकोबेलामा निर्वाचनको पक्षधर देखिएका प्रमुख दलहरुबीचको यो आरोप–प्रत्यारोपले निर्वाचनको वातावरण नै बिग्रने त होइन भन्ने प्रश्न उठाएको हो ।
सक्तरुढ दलहरुले एमालेले अनावश्यकरुपमा अन्य दल र नेताहरुलाई होच्याएर निर्वाचनको वातावरण बिगार्न खोजेका आरोप लगाएका छन् ।
आफूइतर दलका नेतालाई होच्याउने, अराष्ट्रिय बनाउने र उत्तेजक बनाएर निर्वाचन भाँड्न खोजेको कांग्रेसको आरोप छ ।
एमालेको मेची–महाकाली यात्रामा ‘कांग्रेसको खेदो खनिएको’ भन्दै कांग्रेस सांसद रामहरि खतिववडाले आपत्ति जनाए ।
कांग्रेस सांसद बोलेलगत्तै बोलेका एमाले उपाध्यक्षसमेत रहेका सांसद भीम रावलले ‘आफ्नो प्रचार गरेर हिँड्दा खेदो खन्यो भन्ने कस्तो लोकतान्त्रिक चरित्र हो ?’ भनी प्रश्न गरे ।
उनले शान्तिपूर्ण यात्रामा अवरोध गर्नेहरुसँग कांग्रेसको मिलोमतो भएको आशंका गर्दै त्यसो हो भने खुलारुपमा आउन चुनौतीसमेत दिए ।
सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले पनि एमालेले निर्वाचनको वातावरण बनाउनभन्दा पनि उत्तेजक अवस्था सिर्जना गरेर भाँड्न लागेको आरोप लगाएको छ ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले एमालेको र मधेसी मोर्चाको अतिवादले निर्वाचनलाई अप्ठ्यारो बनाउंदै लगेको बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।





प्रतिक्रिया दिनुहोस्