२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


बिरामीको मृत्यु भएपछि क्लिनिकमा तोडफोड, प्रहरीले सन्चालकलाई समात्यो


0
Shares

अनुहारको डन्डीफोर हटाउने भन्दै मंगलबार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखियाको मंगलबार राति मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले मेडिकेयर सेन्टरमा तोडफोड गरेका हुन् ।

घटनालगत्तै प्रहरीले राइन मेडिकेयर सेन्टरका सन्चालक ताहिर राइनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए ।

तोडफोड गरिएको राइन मेडिकेयर सेन्टर जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगराइ अवैधरुपमा सन्चालन गर्दै आएको स्थानीयवासीको आरोप छ ।

अनुहारको डन्डीफोर हटाउन भर्ना भएकी रेखाको अनुहारको राइन मेडिकेयर सेन्टरका सन्चालकले शल्यक्रिया गरेको मृतककी सासू मसिहादेवी मुखियाले बताइन् ।

शल्यक्रियापश्चात् अत्यधिक रक्तश्राव नरोकिएपछि बेहोस भएकी रेखालाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदै गर्दा बोटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ । रासस