Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेपाली सेनाको संगठनलाई सुदृढ बनाउने सम्बन्धमा चिनियाँ प्रतिबद्धता


0
Shares

रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ पक्षले उक्त प्रतिबद्धता जनाएको हो ।

रक्षामन्त्री खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमन्डल नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बिहीबारै काठमाडौं आइपुगेको हो ।

वार्तामा चिनियाँपक्षले नेपाली सेनासँग तालिमसम्बन्धी सहयोगको आदानप्रदान, संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्तिका लागि परिचालन हुँदा तथा विपद् व्यवस्थापन र विकास निर्माणका लागि आवश्यकपर्ने सामग्री र उपकरणमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको रक्षामन्त्री खाँणले जानकारी दिए ।

नेपाली सेनाको समग्र संगठनलाई सबल र सुदृढीकरण बनाउने सम्बन्धमा नेपाल सरकारबाट माग भएअनुरुपको आवश्यकतानुसारको सामग्री तथा उपकरण उपलब्ध गराउने विश्वास चिनियाँपक्षले दिलाएको थियो ।

भेटवार्तापछि रक्षामन्त्री खाँणले भने–‘नेपालको विकासमा चीनले निरन्तर सहयोग पुर्‍याउँदै आएको छ, दुबै देशका सेनाबीच रहँदै आएको अत्यन्तै सुमधुर सम्बन्धलाई हामी अझै विस्तार गर्न चाहन्छौं, नेपाली सेनाले नेपालको राष्ट्रिय सुरक्षाका साथै विपद् व्यवस्थापन, विकास निर्माणका लागि कस्तो सामग्री चाहन्छ, आवश्यकताअनुसार चीनले सहयोग गर्ने भएको छ ।’

नेपाली सेना र चिनियाँ सेनाबीच उत्तरी हिमालय क्षेत्रको सुरक्षा, हिमताल र विपद् व्यवस्थापन गर्नेलगायत समुच्च सुरक्षा व्यवस्थापनका लागि सैनिक सहयोग आदान–प्रदान गर्ने सन्दर्भमा संयुक्त सैनिक अभ्यास हुनेबारे छलफल भएपनि मिति भने द्विपक्षीय सहमतिका आधारमा तय गरिने मन्त्री खाँणले बताए । रासस