रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा उनलाई बिदाइ गरेका थिए ।
रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका थिए ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग पनि उनले द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए ।
नेपाल र चीनबीच परापूर्वकालदेखि नै मित्रवत् सम्बन्ध रहिआएको छ । चीनले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको छ भने असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तमा आधारित हाम्रो परराष्ट्र सम्बन्धले एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको छ ।
रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको र हामी हाम्रो भूमिमा छिमेकी मित्रराष्ट्रकोविरुद्धमा कुनैपनि गतिविधि गर्न दिने छैनौं भनी विश्वास दिलाएका थिए ।
प्रधानसेनापति राजेन्द्र क्षत्री र जनरल चाङबीच भएको भेटवार्ता दुबै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको हो । चिनियाँ रक्षामन्त्रीले शनिबार बसन्तपुर क्षेत्रको अवलोकन गरेका थिए ।
उनको भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको रक्षा मन्त्रालयले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्