Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


यसकारण बद्लियो मौसम


0
Shares

                                                                                      फाइल फोटो
वर्षात्मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ ।

महिनाको उत्तरार्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षात् पनि भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन, खासगरी देशका पूर्वी र मध्यभेगमा बढी असर देखिएको छ, मौसमविद्को भाषामा यसलाई फरक किसिमले तुलना गरिएको छ ।

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ भन्छन्–‘मार्च महिना बढी पानीपर्ने समय हो, तर यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा थिएन, काठमाडौं उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने झन्डै दोब्बर २०० प्रतिशत बढी वर्षात् भएको छ, सामान्यत मार्चमा उपत्यकामा ३५ प्रतिशत वर्षात हुन्छ, अहिले ६५ मिलिमिटर वर्षात् भइसकेको छ, यो अझै केही दिन लम्बिने देखिन्छ ।’

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बद्लीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।

पश्चिम बंगाल र बंगलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघगर्जनसहितको वर्षात र असिना वर्षाएको छ ।

अर्कोतर्फ जमिनको तल्लो सतहमा बंगालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ ।

जलवाष्पयुक्त हावा वायुमन्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए ।

‘पश्चिमी वायुका साथै पूर्व र मध्यभेगको जमिनको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ, तर यसको वायुमन्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानीपर्न सकिरहेको छैन’–उनले भने ।

यो प्रणालीले मध्य र पूर्वी भेगमा असर गरेपनि पश्चिमीभेगमा खासै बद्ली हुने देखिँदैन । पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बद्ली गराएको मौसमविद् अर्यालको भनाइ छ ।

उनकाअनुसार पूर्वी र मध्यभेगमा अझै दुई/चार दिन बद्लीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बद्ली रहनेछ ।

हुनत, अहिले प्रि–मनसुन पनि चलिरहेको छ, मार्च, अप्रिल र मे महिनामा प्रि–मनसुन पर्छ, जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ ।

मौसमविद् श्रेष्ठले लामोसमयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वीभेगमा अझै दोहोरिने र यसले मेघगर्जनसहित असिनापानी र हावाहुरी आउने सम्भावना रहेको बताए ।

नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वीभेगमा अडिएको छ, यसको असर बंगलादेशमा पनि बढी छ ।

‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ, यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछिमात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिन चाँही अनुसन्धान नभइ भन्न सकिन्न, नेपालको पूर्वी तथा मध्यभेगमा अलि बढी पानी परेको देखिन्छ’ वरिष्ठ मौसमविद् श्रेष्ठले भने ।

मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमासमेत असर पर्नसक्ने आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम २७ डिग्री र न्यूनतम १५ डिग्री सेल्सियस रहेको छ ।