Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान


0
Shares

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् ।

नेपाल र भारतबीच एक–अर्काे मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, मुख्यसचिव डा. सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी उपस्थित थिए ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति, रक्षा मन्त्रालयका उच्चपदस्थ अधिकारी र नेपाली सेनाका रथीबृन्दको पनि समारोहमा सहभागिता थियो ।

यसअघि, रक्षामन्त्री बालकृष्ण खाँणसँग सेनाध्यक्ष रावतले शिष्टाचार भेट गरेका थिए ।

प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत मंगलबार चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका हुन् ।

उनले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवं धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयकोसमेत उनले निरीक्षण गर्ने कार्यक्रम छ । रासस