Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बोडेका बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा


0
Shares

                                                                                      फाइल फोटो

बुधबार कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको बताए ।

विगत ८ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाँसश्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यस वर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि जात्रालाई निरन्तरता दिन उनले बुधबार जिब्रो छेड्ने घोषणा गरेका हुन् ।

एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्षसमेत रहेका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म चार वर्ष निरन्तर जिब्रो छेडेका थिए ।

जुजुभाइले जिब्रो नछेड्ने बताएपछि मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, कोरिया–नेपालमैत्री अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन, अस्पतालका प्रशासन प्रमुख कैशाल दासले जात्राका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै परम्परा नरोक्न आग्रह गरेपछि आफू जिब्रो छेड्न तयार रहेको बताए ।

त्यसअघि अर्थात् २०६२ सालअगाडि उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तररुपमा जिब्रो छेडेर यो परम्परा जोगाएका थिए । उनले अहिले जिब्रो छेडाउने कार्य गर्दै आएका छन् ।

परम्परा जोगाउन मध्यपुर थिमि नगरपालिकाले गत वर्ष रु ४४ हजार सहयोग गरेको बताउँदै यस वर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने वचनबद्धता नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले जनाए ।

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरव मन्दिर प्रांगणमा लिंगो उठाएपछि आउँदो वैशाख २ गते मध्याह्न १२ देखि १ बजेको बीचमा हजारौं मानिससामुन्ने बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाइ नाय्खिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

देवगणको पूजा एवं प्रार्थना गरी हजारौं मानिसहरूकैअगाडि नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोबाट जिब्रो छेड्ने परम्परा छ ।

जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब एक घन्टापछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाउने र जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गरेपछिमात्र खानेकुरा खाने प्रचलन रहेको छ ।

प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहँदै आएको छ । रासस