३० असार २०८२, सोमबार | Tue Jul 15 2025


स्थिति सामान्य हुनेबित्तिकै अर्थतन्त्रले पुरानै गति लिन्छ : अर्थमन्त्री


0
Shares

काठमाडौं, असार ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थिति सामान्य हुनेबित्तिकै अर्थतन्त्रले गति लिने दाबी गरेका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणमा जति छिटो सफलता हात लाग्छ, उति छिटो अर्थतन्त्रले पुरानै गति लिने उनको दाबी छ ।

संक्रमण चाँडै नियन्त्रणमा आए अर्थतन्त्र ‘यु टर्न’मात्र होइन, ‘भी सेप’मै अघि बढ्ने विश्वाससमेत उनको छ ।

राष्ट्रियसभामा शुक्रबार आर्थिक विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खतिवडाले भूकम्पपछि पनि थलापरेको अर्थतन्त्र उस्तै गतिले उठेको दृष्टान्त दिँदै उक्त दाबी गरेका हुन् ।

अहिलेको समस्या मानव स्वास्थ्यसँग जोडिएको समस्या भएको, भौतिक संरचना केही नभएको र अहिलेपनि अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेकाले परिस्थिति सहज हुनेबित्तिकै सबै कुरालाई सामान्य अवस्थामा लान सकिने मन्त्री खतिवडाको जिकिर छ ।

बजेटमार्फत् ल्याइएका आर्थिक पुनरुत्थानका कार्यक्रमको प्रभावकारी परिचालन गरेर आर्थिक अवस्थामा सुधार गर्न सकिने उनको दाबी छ ।

आन्तरिक ऋण विकास खर्चका लागिमात्र लिइने र बैंकहरुलाई पनि विदेशबाट ऋण लिन सहज गरिएकाले निजी क्षेत्रलाई उपलब्ध हुने स्रोत संकुचन नहुने पनि अर्थमन्त्री खतिवडाले जिकिर गरे ।