
जिल्ला अस्पतालसँगै पर्वतका गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थामासमेत बिरामीको चाप बढेको हो ।
मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदूषित हावाहुरीसंगै खानेपानीसमेत दूषित हुन थालेपछि बिरामीको संख्यामा वृद्धि भएको हो । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातायता तीन गुणा संख्या वृद्धि भएका छन् । तीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेको अस्पतालले जनाएको छ ।
भाइरलको प्रकोप बालबालिकामा बढी देखिएका छन् । बालबालिकासंगै एकै घरमा चार–पाँचजनाको संख्यामा उपचारकालागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा.बुद्धिबहादुर थापाले जानकारी दिए । वृद्धवृद्धामासमेत यसको संक्रमण देखिएको छ ।
दूषितपानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा.थापाले जानकारी दिए । यसबाट बच्न दूषित खाना तथा खानेपानी प्रयोग नगर्ने र कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन डा.थापाको सुझाव छ ।
पन्ध्र श्यैयाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्यैयाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । लामो समयको खडेरी र चर्को गर्मीका कारण छिटो बिरामी परिने भएकाले संख्या बढेको डा.थापाले जानकारी दिए ।
गाउँ–गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबीसै घन्टा खटिन निर्देशन दिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्