Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आज सकिदैं, सन् १९५० को सन्धी मुख्य एजेण्डा


0
Shares

काठमाडौंमा बुधबारदेखि शुरु भएको ईपीजी बैठकमा भारतले नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन सकारात्मक संकेत गरेको बताइएको छ ।

नेपाली पक्षले शान्ति तथा मैत्री सन्धिलाई प्रमुख एजेण्डा बनाएकोमा भारतले पनि सकारात्मक संकेत दिएको हो । बुधबार दिनभर सन् १९५० को सन्धिबारे छलफल भएको र आज पनि यसैमाथि छलफल हुने बताइएको छ । यद्यपि, ईपीजीमा रहेका नेपाल र भारतीय दुबै पक्षले औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।

२०१४ को जुलाईमा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको परराष्ट्रमन्त्रीस्तरीय बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमति अध्ययन गरी पुनरावलोकनका लागि सुझाव दिन प्रबुद्ध समूह गठन गर्ने सहमति गरेको थियो । सोही सहमति अनुसार केपी ओली प्रधानमन्त्री रहेका बेला गठित प्रबुद्ध समूहमा नेपालका तर्फबाट डा. भेषबहादुर थापाको संयोजकत्वमा अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानूनमन्त्री नीलाम्बर आचार्य र सांसद राजन भट्टराई सदस्य छन् ।

भारतीय पक्षबाट भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारीको नेतृत्वमा पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापक महेन्द्र पी.लामा र बिसी उप्रेती सदस्य छन् ।