Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भारतीय नम्बर प्लेटको टाटासुमो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु


0
Shares

पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बरको वाहनमा परिवारका अन्य सदस्यसहित वीरगन्जतर्फ आउँदै गरेको बेला वाहन अनियन्त्रित भई पल्टिँदा च्यापिएर विणको मृत्यु हुनका साथै वाहनमा सवार रहेका अन्य दुई जनासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले वाहनमा सवार विणका १५ वर्षीया छोरी काजलकुमारी विणसहित दुई जना घाइते भएको बताए । घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता जोशीको भनाइ छ ।

गण्डक नहर बाटोमा रहेका खाल्डो र सवारीसाधनको गति समेत बढी रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । दर्घटनापछि वाहन चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

मृतक विणको शव परीक्षणका लागि वीरगन्जको उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । (रासस)