
जिल्ला बाहिरका अञ्चल अस्पतालमै १२ बजेपछि ओपिडी सेवा बन्द गरिएको पाइएको हो । झापा जिल्लाको मेची भद्रपुर अञ्चल अस्पतालमा १२ बजे पछाडी सबै ओपिडी सेवा बन्द हुने गरेको पाईएको छ ।
१२ बजे नै ओपिडीमा चिकित्सक नबसेपछि बिरामी निजी क्लिनिकमा जान बाध्य भएका छन् । चिकित्सकसहित अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पीताम्बर ठाकुर नै छुट्टै आफ्नो क्लिनिकमा जाने गरेको अस्पतालमा एक कर्मचारीले बताए ।
अस्पताल वरपर २० भन्दा बढी क्लिनिक रहेका छन् भने मेची अञ्चल अस्पतालका चिकित्सक सबै तिनै क्लिनिकमा भेटिन्छन् । पर्याप्त चिकित्सक नभएको अस्पतालमा भएकालेसमेत यस्तो गरेपछि सर्वसाधारण खर्चिलो सेवा लिन निजी क्लिनिक धाउनुपर्ने बाध्यतामा परेका हुन् ।
चिकित्सक र कर्मचारी गरी १०३ जना दरबन्दी रहेको यस अस्पतालमा ४६ पद त रिक्त नै छ । १ सय ५० शैयाको अस्तालमा एनेस्थेसियाको चिकित्सक नहुँदा मूख्य शल्यक्रिया हुन नसकेको अस्पतालमा कर्मचारीले जानकारी दिए । त्यस्ता बिरामीलाई पनि चिकित्सकहरुले आफ्नै क्लिनिकमा पठाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्