Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


रामग्राम स्तुपको बेवास्ता (भिडियो)


0
Shares

विवेक भण्डारी

नवलपुर, फागुन १२ । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकामा अवस्थित रामग्राम स्तुप संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । स्तुपको विकास र विस्तारका नाममा बर्सेनि करोडौँ रुपैयाँ विनियोजन गरिए पनि लुम्बिनी विकास कोषको बेवास्ताले ऐतिहासिक तथा धार्मिक महत्वको यो स्थान ओझेलमा परेको हो ।

लुम्बिनी विकास कोष र नगरपालिकाको वेवास्ताका कारण ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुपको सरक्षण हुन सकेको छैन । विभिन्न मुलुकबाट धार्मिक पर्यटकहरु आउने यस स्थल वर्षौंदेखि संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारको पर्खाइमा छ । उसो त यस स्थलको संरक्षण प्रचारप्रसारका लागि सरकारले बजेट पनि छुट्याएकै छ । तर लुम्बिनी विकास कोषले यो क्षेत्रका लागि त्यति खर्च नगरेको स्थानीयको गुनासो छ ।

भगवान गौतम बुद्धको अष्टधातु राखिएका आठ स्थानमध्ये यसलाई विश्वकै सुरक्षित स्थल मानिएको छ । करिब २५ सय वर्षको लामो इतिहास बोकेको कोलीय राजाद्वारा निर्माण गरिएको स्तुपको संरक्षणमा चासो दिनुपर्ने आवाज स्थानीयले उठाउँदै आएका छन् । 

एक बगैँचामा माटोको एक ठुलो ढिस्कोको रुपमा चिनिने यस स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारको कार्यहरु गरिएको पाइएको छैन । यता, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले स्तुपको विकासका लागि ५० लाख बिनियोजन गरिएको र आफूले सक्दो प्रयास गर्ने बताए ।

रामग्राम स्तुपको अवलोकन गर्न चीन, थाईल्याण्ड, भियतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट मासिक करिब ५ सय पर्यटकहरु आउने गर्दछन् । यस्ता धार्मिक सम्पदाको संरक्षण गर्न सके एकातिर संस्कृति प्रबर्द्धन हुने र अर्कोतिर धार्मिक पर्यटन भित्राउन सकिने निश्चित छ ।

भिडियो हेर्नुहोस्