Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचन लक्षित गर्दै पूर्वाञ्चलमा क्षेत्रीय सुरक्षा गोष्ठी सुरु


0
Shares

शुक्रबार सुरु भएको गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निष्पच्छ एवं भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताए ।

गृहराज्यमन्त्री बानियाँले मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने उल्लेख गर्दै सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताए ।

सोही कार्यक्रममा बोल्दै गृह सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीको लाभ पहिलो पटक जनताले लिने भएकाले त्यही अनुसार अगाडी बढ्न सुरक्षा प्रमुखहरुलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागीता छ ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा सुरु भएको गोष्ठीमा गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी, नेपाल प्रहरीका निमित प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी तथा नेपाली सेनाका पूर्वाञ्चलका पृतनापति गोकुल भण्डारीको पनि सहभागीता छ ।