काठमाडौं, फागुन १० । खानेपानीमन्त्री बीना मगरले जुनसुकै प्रक्रिया अपनाएरपनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौंवासीले कहिले पिउन पाउँछन् ?’ भन्ने सांसद डिला संग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सीएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित् तालिकानुसार पानी आउन नसकेको बताइन् ।
‘अहिले मन्त्रालय दुईओटा विकल्प लिएर अघि बढेको छ । पहिलो सीएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ । यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ । पुनः बोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ’–उनले भनिन् ।
मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सीएमसीसँग कमिसन मागिएका सम्बन्धमा भइरहेको ‘सार्वजनिक टीका–टिप्पणीको सत्यतथ्य के हो ?’ भनी सांसद संग्रौलाले पूरक प्रश्न राखेकी थिइन् ।
सांसदका पूरक प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मकरुपमा काम भएको जिकिर गरिन् ।
‘म आएपछि धेरै काम भएको हो । निर्माण कम्पनी सीएमसीको लापरबाहीले परिणाम दिन सकिएन। सुरुङ ‘ब्रेक थ्रु’ र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया सुरु हुनु, फिनिसिङ अन्तिम चरणमा पुग्नु यसका उदाहरण हुन्’–उनले भनिन् ।
सीएमसी गएपछि अन्योल छाउनु दुर्भाग्य भएपनि त्यसको भोलिपल्टदेखि नै कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी उनले संसदलाई दिइन् ।
छिटो पानी ल्याउन सरकारका तर्फबाट निरन्तर प्रयत्न भइरहेको बताउँदै मन्त्री मगरले सीएमसी नआएपनि तीव्ररुपमा काम गर्नेगरी पुनः बोलपत्र आह्वानको तयारी गरिएको सुनाइन् । दुवै प्रयास समानान्तररुपमा भइरहेको उनको भनाइ थियो ।
‘भेन्डर’को समस्या समाधान गर्न सीएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको जनाइएको छ ।
ठेक्काको मान्यताभित्र रहेर काम गर्नेगरी आए सीएमसीलाई स्वागत गरिने तर विधिबाहिर गएर काम गर्न नसकिने मन्त्री मगरले बताइन् ।
‘मेरो सफलताको विषय पनि हो, मेलम्ची आयोजना । पूर्वसचिवलाई पहिलो प्राथमिकतामा राखेर मेलम्चीको काम गर्न निर्देशन दिएकामा नगरेपछि सरुवा भएको हो’–उनले भनिन् ।
आफू आएपछि रु ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा रु एक अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरले आपत्ति जनाइन् ।
मेलम्चीको विकल्पकारुपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतकाबारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पनि पुगेको उनले प्रतिनिधिसभालाई जानकारी दिइन् ।
मेलम्चीको पाइप छिटो बिछ्याइ सकेर सडक बनाउने तयारी भइरहेको छ ।
उपत्यका वरपर जलाधार क्षेत्र घोषणा गर्ने गतिमै मन्त्रालयले काम गरिरहेको उनले बताइन् ।
मेलम्ची आयोजना हेर्न स्थलगतरुपमा जाँदा बनाइएको कार्ययोजनानुसार नै आफूले पानी आउने मिति घोषणा गरेको जानकारी पनि उनले दिइन् ।
त्यसअघि पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले ‘गत वैशाखमै पानी आउँछ भनी भाषण भइरहेको थियो, किन ढिलाइ भयो ? अब पानी आउने प्रस्ट तिथिमिति जानकारी पाऔं’ भनी माग गरेका थिए ।
सांसद महेश बस्नेतले ‘मेलम्चीले पाइप विस्तार गरेको स्थानका सडक असरल्ल छ, कहिले बन्छ ?’ भन्दै सरोकार भएका निकायलाई राखेर मन्त्रालयले बहस गर्नुपर्ने सुझाव दिए ।
सांसद गगनकुमार थापाले ‘पूर्वसचिव ठाकुरले सीएमसीलाई रु तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनी दिएको सार्वजनिक टिप्पणीमा दोषी को हो ? जान्न पाउने जनताको अधिकार रहेको’ भनी ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले ‘चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौं उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ ?’ भनी प्रश्न राखेका थिए ।
सांसद बहादुरसिंह लामाले सीएमसी कम्पनीले ९५ प्रतिशत काम गरेको भनिएपनि कागजातको अध्ययन गर्दा ८० प्रतिशतमात्र काम भएको देखिने बताए । रासस









प्रतिक्रिया दिनुहोस्