Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


वर्ष २०७३ः पर्यटनका लागि उत्साहपूर्ण


0
Shares

वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो ।

पर्यटन विभागको विवरणअनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए ।

त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो ।

आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कन्चनजंघा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

महोत्सवको अवसरमा विश्वचर्चित जुनको तावेइलगायत आरोहीको नेपाल आगमन र अन्तर्राष्ट्रिय सन्चारमाध्यमका सन्चारकर्मीको जमघटले नेपालको पर्वतीय पर्यटनको सकारात्मक सन्देश पुग्यो ।

त्यस्तै, गत मे २९ २०१६ मा मनाइएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा विश्वभरका आरोहीको आवागमनले थप उत्साह जगायो ।

पोखरामा सम्पन्न विश्व शान्ति पूजामा विश्वभरबाट आएका पाहुनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो ।

नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा देश तथा विदेशमा गरेका विभिन्न कार्यक्रमले पनि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ ।

साथै, बोर्डले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न चर्चित अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसी, रोयटर्स र ट्रिप एडभाइजरसँग गरेको साझेदारीले वर्षको उत्तरार्धमा थप सकारात्मक सन्देश गयो ।

यसैगरी, गत चैत २५ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईओटा वाइडबडी ‘ए’ ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग खरिद सम्झौता गरेको छ ।

नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गरेको यो पहिलोपटक हो । यसले नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदा पर्यटन व्यवसायी झन् उत्साहित भएका छन् ।

अर्कोतर्फ सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ का कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्यो ।

यसरी एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गतिविधि, गन्तव्य प्रवद्र्धनका नयाँ प्रयास, पर्यटन सेवाको विविधिकरण र सेवा विस्तारको तीव्रताले २०७३ साललाई उपलब्धिमूलक बनायो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटनको हिसाबले २०७३ साल उत्साहजनक रहेको र यस वर्ष पर्यटकको संख्यामा ४० प्रतिशतले वृद्धि भएको बताउँछन् ।

घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो उपलब्धि हासिल गरेको र पर्यटक आवागमन बढको उनको बुझाइ छ ।

प्रवक्ता उपाध्यायकाअनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रता र हालै एनएसीले दुई बाइडबडी विमान खरिदका लागि गरेको सम्झौताले वर्ष २०७३ लाई निकै उपलब्धिमूलक बनायो ।

त्यस्तै, पुरातात्विक सम्पदाको पुनःनिर्माणको तीव्रताले पर्यटन क्षेत्रमा थप उत्साह थपेको उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्रको मूलआधार मानिने पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण बन्यो ।

साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै अहिले उल्लेख्यरुपमा आरोही र पदयात्री आइरहनुले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका छन् ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा पनि भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा नेपालको पर्यटन क्षेत्रले निकै राम्रो पुनरुत्थान गरेको बताउँछन् ।

यस वर्ष गरिएको चर्चित अन्तर्राष्ट्रिय ‘इभेन्ट’ पर्यटन प्रवद्र्धनका नयाँ आयाम आदिले पर्यटनमा नयाँ उत्साहज जगाएको उनको भनाइ छ ।

मुलुकको पर्वतीय पर्यटनमा वर्षको सुरुमै उत्साहजनक नतिजा देखिएकोमा यसपटक पनि धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि आएका छन् ।

यस वर्षको वसन्त ऋतुमा ८ सयदेखि ९ सय स्वदेशी तथा विदेशी आरोही हिमाल आरोहणमा जाने अध्यक्ष शेर्पाले बताए ।

पदयात्रा पर्यटनका लागि पनि २०७३ साल निकै उपलब्धिमूलक र उत्साहजनक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल बताउँछन् ।

उनकाअनुसार यस वर्ष पदयात्रामा कुनै अप्रिय घटना भएन । थुप्रै पदयात्री गन्तव्यमा पुगे । पदयात्रामासमेत आन्तरिक पर्यटन प्रबद्र्धन भयो । अध्यक्ष रिजाल २०७३ हालसम्मकै उत्साहजनक वर्ष भएको दाबी गर्छन् ।

वर्ष २०७३ मा मुलुकको होटल व्यवसायले निकै प्रगति हासिल गरेको पाइयो । पर्यटकीय याममा बुकिङ राम्रो भएका कारण पर्यटक बढ्ने होटल एसोसिएसन नेपाल(हान)का महासचिव विनायक शाह बताउँछन् ।

हानको विवरणअनुसार होटलमा हाल ३८ हजार सुविधायुक्त वेड रहेका छन् । अझै थपिनेक्रम जारी छ ।

सन् २०२० सम्ममा चार हजार अन्तर्राष्ट्रियस्तरका सुविधायुक्त वेड थपिँदैछन् । होटल व्यवसायमा लगानी पनि बढेको छ । काठमाडौंलगायत मुख्य सहरमा उत्साहपूर्ण लगानी रहेको हानले जनाएको छ ।

विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डकाअनुसार यस वर्ष (सन् २०१६) मा सात लाख २९ हजार पर्यटक नेपाल घुम्न आएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी सन् २०१२ मा ८ लाखको हाराहारीमा पर्यटक नेपाल आएका थिए ।

अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।