Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


काठमाडौंमा अब यी अवस्थामामात्र हर्न बजाउन पाइन्छ (भिडियोसहित)


0
Shares

ट्राफिक प्रहरीले आकस्मिक अवस्थाबाहेक अरुबेला हर्न बजाएमा १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ ।

सवारी आवागमन अस्तव्यस्त र ध्वनी प्रदूषण बढ्दै गएकोले यो अभियान सुरु गर्न लागिएको हो । तर, यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, दमकललगायतका आकस्मिक प्रयोजनका सवारी–साधनमा भने लागू हुने छैन ।

सामान्यतः फुटपाथ पैदलयात्रीका लागि बनाउने गरिन्छ । फुटपाथ पैदल यात्रीहरु हिड्ने ठाउँ हो । तर, काठमाडौं उपत्यकामा फुटपाथमा जताततै पसलमात्र देखिन्छन् । जसले पैदलयात्रीहरुले हिँड्दा सधैं कठिनाइ व्यहोर्नुपर्छ ।

यस्तो अवस्था अन्त्यका लागि ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिकाको सहयोगमा फुटपाथ पसल हटाउने र पैदलयात्रीलाई फुटपाथबाटमात्र हिँड्ने व्यवस्था मिलाउन लागेको छ ।

शुक्रबारबाट बाटो काट्दा जेबाक्रसिङको प्रयोग नगर्नेलाईसमेत कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

अर्कोतिर शुक्रबारबाटै आकस्मिक अवस्थाबाहेक हर्न बजाउन नपाइने व्यवस्था लागू हुँदैछ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिंगमार लामाले घुम्ती र दुर्घटनाको खतरा भएका ठाउँमाबाहेक अरु अवस्थामा सवारीचालकले हर्न बजाउन नपाउने जानकारी दिए ।

त्यसो त ट्राफिक प्रहरीले बेलाबेलामा बढ्दो सडकजाम कम गर्न, दुर्घटनामा कमी ल्याउन र पैदययात्रीको सुरक्षा गर्न भन्दै नयाँनयाँ व्यवस्था लागू गर्न प्रयत्न गर्छ ।

तर, मादकपदार्थ सेवन गर्नेहरुलाई कारबाहीबाहेकका अन्य ट्राफिक अभियानहरु अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन् ।

यस्तो अवस्थामा ‘नानीदेखि लागेको बानी’ भनेजस्तै, हर्न बजाउने बानीमा नियन्त्रण गर्न निकै कठिन हुने ठानिएको छ ।

यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनेमा चालकलाईसमेत आशंका छ ।

सर्वसाधारण पनि यो नियम लागू हुनेमा विश्वस्त छैनन् । कारण विगतमा गरिएका थुप्रै प्रयासहरुले सफलता प्राप्त गर्न नसकेका कारण सर्वसाधारणमा आशंका हुनुलाई स्वभाविक ठानिएको छ ।

तर, ट्राफिक प्रहरी भने सबै चुनौतीको सामना गर्दै हर्न निषेध, जेब्राक्रसिङबाट बाटो काट्ने व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गरिछाड्न प्रतिबद्ध छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख मिंगमार लामा यो अभियान सफल बनाउन सबैको सहयोग आवश्यक हुने बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।