Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नारायणगढ–मुग्लिन सडकः पहाड विस्फोटका लागि अनुमति माग


0
Shares

                                                                                   फाइल फोटो
सो सडकखन्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमिदेखि एक सय मिटर लम्बाई क्षेत्रमा पहाड काट्न निकै कठिन छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको हो ।

खनालकाअनुसार विस्फोट गर्न अनुमति माग गरिएका क्षेत्रमा झन्डै ८० मिटर अग्लो पहाड छ ।

त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मिटर चौडामात्रै रहेको छ । जहाँ ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ ।

परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्नेछ ।

इन्जिनियर खनालकाअनुसार विस्फोट आफैंमा चुनौतीपूर्ण काम भएकाले परामर्शदाताले विस्तृत् अध्ययन गरेपछिमात्र काम गर्न हुने वा नहुने सिफारिस गरिने बताए ।

विस्फोट गर्नुपर्दा पूरै पहाड खस्नसक्ने, पछि पनि फेरि पहिरो खसिरहनसक्ने, लामो समयसम्म सडक बन्द हुनेजस्ता समस्या आउनसक्ने देखिएको छ ।

यसअघि नै निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिबर पद्धतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ ।

सोअन्तर्गत् ठूला सिमेन्टका स्ल्याप निर्माण गरी सडकमा बिच्छाएर सडक चौडा गर्न सकिन्छ । सो क्षेत्रमा एक दशमलव ५ मिटर सडकको चौडा क्यान्टिलिबर पद्धतिबाट गर्न आयोजनाले अनुमति दिइसकेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ एक किमि क्षेत्रमा करिब २५० मिटर लम्बाईमा क्यान्टिलिबर पद्धतिबाट काम गर्न अनुमति दिइएको हो ।

भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाउँदै दुईपटक समय थप गरिसकिएको छ । हालसम्म ४५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

सडकलाई तीन खन्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुंगासम्मको पहिलो खन्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन ।

दासढुंगादेखि सिमलतालसम्मको दोस्रो खन्डमा १६ किमिमा तीन सय मिटर र घुमाउनेमा दुई सय मिटर सडक चौडा गर्नुपर्ने हुन्छ ।

हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक छ, जसलाई ११ मिटर फराकिलो बनाउनुपर्ने हुन्छ ।

करिब ४४ मिटर अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशतमात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताए ।

त्यसैगरी, तेस्रो खन्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलबिरेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँ–ठाउँमा गरी पाँच सय मिटर सडक चौडा गर्नुपर्ने हुन्छ ।

इन्जिनियर खनालकाअनुसार जलबिरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म दश प्रतिशतमात्र काम भएको छ ।

कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मिटरमात्र सडक फराकिलो छ, जसलाई ९ मिटर फराकिलो पुर्‍याउनुपर्नेछ । सो क्षेत्रमा ८० मिटर माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ ।

तीन खन्ड बनाएर विस्तार थालिएको सो सडक खन्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खन्डमा सात महिना र तेस्रो खन्डमा ८ महिना समय थप गरिसकिएको छ ।

सोअनुरुप आँपटारीदेखि दासढुंगासम्मको पहिलो खन्डको सात महिना मिति थप गरी आगामी भदौ ९ गते काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

दासढुंगादेखि सिमलतालसम्मको दोस्रो खन्डमा आगामी मंसिर १२ गते, सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खन्डको पुस ६ गते सम्पन्न गर्न मिति थप गरिएको हो । वि.सं. २०७१ चैत २६ गतेदेखि काम थालिएको हो ।

३३ किमि सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुंगासम्म भारतीय बीएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । रासस