
काठमाडौं, फागुन ९ । स्मार्ट फोन बजारमा छुट्टै पहिचान बनाएको सामसुङ्ग कम्पनीले नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । ‘सामसुङ्ग ग्यालेक्सी फोल्ड’ नाम दिइएको यो फोन ‘फोल्ड’ गर्न मिल्छ ।
सन् २००९ मा आफ्नो पहिलो स्मार्ट फोन बजारमा ल्याएको यो कम्पनीले एक दशकको अवधिमा विभिन्न प्रकारका फोन ल्याइसकेको छ । ‘आफ्नो पहिलो फोन बनाइएको १० वर्षपछि यो नयाँ फोनका साथ केवल फोनको बनावटमात्र नभइ भविष्य नै परिवर्तन गरिदिएको छ,’ नयाँ फोनबारे सो कम्पनीले भनेको छ ।
पेन्सिल बक्स आकारमा फोल्ड रहेको यो फोन खुलेपछि ७.३ इन्चको हुनेछ । फोन खोलेपछि यो आफैंमा एक सिंगल स्क्रिनको ट्याबलेट हुनेछ । यो फोनमा एकसाथ तीन एप्स चलाउन मिल्ने बताइएको छ ।
क्यामेरामा पनि विशेष व्यवस्था गरिएको कम्पनीले जनाएको छ । फोल्ड गरेको अवस्थामा होस् या खोलेको अवस्थामा, जुनसूकै अवस्थामा फोटो लिनका लागि सुविधा हुनेगरी यसमा ६ वटा क्यामेरा राखिएको छ ।
कम्पनीले ‘ग्यालेक्सी फोल्ड’सँगै ५ जी ग्यालेक्सी एस १० र ग्यालेक्सी एस १० मोडलका फोन पनि बजारमा ल्याएको छ ।
२६ अप्रिलदेखि बजारमा उपलब्ध हुने ‘ग्यालेक्सी फोल्ड’ फोनको एक हजार ९८० अमेरिकी डलर मूल्य राखिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्