Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सन् २०१७ भित्र दुई जोडी गैंडा चीन पठाइने


0
Shares

                                                                                   फाइल फोटो
सो कार्यका लागि दुबै देशका कर्मचारी तहमा हालैमात्र हस्ताक्षर भइसकेको छ ।

राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईकाअनुसार गैंडा पठाउनुअघि मन्त्रीतहमा पनि सम्झौता गरिनेछ ।

अन्य निकुञ्जमा गैंडाको संख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैंडा पठाइने उनले बताए ।

हालैमात्र चीन पुगेर नेपालका तर्फबाट गैंडा दिने सम्झौतापत्रमा हस्ताक्षर गरेका भट्टराईकाअनुसार अध्ययन–अनुसन्धानका लागि ती गैंडा चीनले प्रयोगमा ल्याउने भएको छ ।

सोझै गैंडा पठाउन नमिल्ने हुँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने उनले जानकारी दिए । साइटिस, क्वारेन्टाइनलगायतका नियम–कानुन पूरा गरेरमात्र वन्यजन्तु ओसार–पसार गर्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार १० वर्षमुनिका अर्धवयस्क गैंडा पठाइने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुला खोरमा राखेरमात्र पठाइने छ ।

स्वस्थ्य परीक्षण गरेर पठाइने ती गैंडाको रहन–सहनबारे चिनियाँ टोलीलाई जानकारी गराएरमात्र पठाइने उनले बताए ।

नेपालबाट लगिने गैंडामध्ये एक जोडीलाई संघाई सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिँदैछ । यसअघि नै चीनमा भारतबाट एकसिंगे एउटा गैंडा लगिएको थियो ।

चीनमा अफ्रिकाबाट लगिएका दुईसिंगे गैंडा भने प्रशस्त रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।

यसअघि, चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैंडा पठाइसकिएको छ ।

सन् १९८६ बाट हालसम्म यसै निकुञ्जबाट नेपालकै बर्दियामा ९१ ओटा र शुक्लाफाँटामा ९ ओटा गैंडा पठाइसकिएको छ ।

पछिल्लो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ ओटा गैंडा रहेका थिए । त्यसपछि ८ ओटा बर्दिया र पाँचओटा शुक्लाफाँटामा गैंडा लगिएको हो । रासस